काठमाडौबाट के मा आउनु भो ?
यसपाली प्लेनमा आएँ ।
तपाइको काठमाडौ बसाई र हिडाईको चर्चा हुन्छ । सादा तरिकाले बस्नु र हिड्नुहुन्छ रे ।
म काठमाडौको पुरानो बानेश्वर बत्तीसपुतलीमा डेरा छ । त्यहाँबाट पाँच सात मिनेट अगाडी गएपछि जता जाने पनि टेम्पो पाइन्छ । कसैले मोटरसाइकलमा लिफ्ट दिएन भने टेम्पो चढेर जान्छु । प्रायः सिंहदरबार जानुपर्ने हुँदा सार्वजनिक यातायात साधन, त्यसमध्ये टेम्पो प्रयोग गर्छु ।
निर्वाचित सांसद हुनुहुन्छ । नेता, मन्त्रीदेखि व्यापारीसम्म राम्रो चिनजान छ, आफ्नो एउटा गाडी त चाहिन्न र ?
हामी सांसदले पाउने पारिश्रमिकले काठमाडौको महंगो ठाउँमा बस्ने, खाने, औषधी उपचार गर्ने, काठमाडौ र आफ्नो क्षेत्र आवतजावत गर्ने, भूकम्प, बाढीमा एक महिनाको तलब दिने, पार्टीको महाधिवेशन, कसैको औषधी उपचारको लागि सहयोग दिँदा सबै पैसा सकिन्छ । अहिले मेरो तलब ६५ हजार हो । अरु व्यापार व्यवशाय नहुँदा यति पैसाले सामान्य आवश्यकता पूर्ती गर्न नै पुग्दैन भने गाडी सम्भव छैन ।
या त पैतृक सम्पत्ती त्यती हुनु पर्यो । या त नियत खराब राखेर बार्गेनिङ गर्ने सांसदले मात्र गाडी चढ्छन् । त्यसो गर्नेले गर्छन् । जस्तै गोपाल बहादुर खड्काको केश उठाउने, एन सेलको केश उठाएर बार्गेनिग गर्ने र पैसा पाउने । कसै कसैले गर्न पनि सक्छन् । तर मैले अहिलेसम्म भ्रष्टाचार र अनैतिक काम गरिनँ । जनप्रतिनिधिविहिन अवस्थामा म पार्टीको जिल्ला अध्यक्ष भएको थिएँ । त्यो बेलामा चाहेको भए धेरै कमाउन सक्थेँ । तर मैले कहिल्यै त्यस्तो गरिनँ । त्यसैले हामीसँग गाडी किनेर तेल हालेर मर्मत गर्ने, ड्राइभर राख्ने हैसियत हुन्न ।
एमालेका सांसदहरु मनमोहन मेडिकल कलेजमा लगानी गरेका छन् । तपाइले पनि यस्तै कुनै तरिका किन अपनाउनु भएन ?
हामी राजनीति गर्नेहरुले सामान्य काम गरेर राजनीति गर्नुपर्छ । नत्र पेशा र राजनीतिले एक अर्कालाई असर गर्छ । मलाई एकदमै मिठो खानुपर्ने, किनमेल गर्नुपर्ने शौख छैन । ठूलो आवश्यकताको आकांक्षा नभएपछि सामान्य जिन्दगी त म सांसदै नहुँदा पनि बाँच्न सक्छु । जे गरे पनि ४०–५० हजार कमाइ हुन्छ । क्याम्पस वा बोर्डिङ पढाएर, अदालतमा बहस गरेरै पनि कमाउँछु । त्यो हुँदा राजनीतिलाई व्यवशायमा जोडेर किन विवादित हुने भनेर व्यवशायको सोँच बनाइनँ ।
तपाई देशको केन्द्र भागमा हुनुहुन्छ । देशको अवस्थालाई कसरी नियाल्नुभएको छ ?
संसद, संसद सचीवालय, मन्त्री, प्रधानमन्त्रीलाई नजिकबाट हेर्दा सन्तोषजनक छैन । मनोविज्ञान, शासन सञ्चालनका प्रक्रिया चित्त बुझ्दो छैन । हामीले सामाजिक, आर्थिक क्षेत्रमा राम्रो प्रगती गरेका छौं । तर शासकिय विधि, प्रक्रिया, तरिकामा आमुल परिवर्तन गर्यौं भने अबको १० वर्षमा विकसित बन्न सक्छौं । किनकी हामीसँग पैसाको कमी छैन । राज्यले कुनै पहल नगर्दा पनि सात खर्ब आन्तरिक राजस्व उठेको छ । अलि योजना बनाएर गर्यो भने १४ खर्ब उठ्छ । १० हजार मेगावाट बिजुली मात्र उत्पादन गर्यौं भने अरु केही चाहिँदैन ।
प्रक्रियागत झन्झट, भ्रष्टाचार, सुशासन र शान्ती सुरक्षाको अभावले देश विकास नभएको हो । यो एउटा दुईटा मन्त्रीले गरेर हुँदैन । सिंगो प्रक्रियामा नै परिवर्तन गर्नुपर्छ । सरकारले कानुन ल्याउँछ, त्यसले भ्रष्टाचारको ठाउँ छाडेको हुन्छ, अनि सरकारका मन्त्री सचीवले कार्यविधि बनाएर देश चलाइदिन्छन् । म ६ वटा मन्त्रालयका काम हेर्दैछु । म रहेसम्म यसरी कार्यविधि बनाउन पाइन्न भनेको छु । शासकीय सुधार गर्ने विषयमा लागिपरेको छु ।
यो नराम्रो परिपाटीको असर तपाइलाई पनि पर्ला । अनुचित दबाब र प्रलोभनहरु कत्तिको आउँछन् ?
भेट दिनुपर्यो भनेर विभिन्न प्रकरणमा कुरा आउँछन् । तर मेरो क्यारेक्टर धेरैलाई थाहा छ । तलमाथि गर्दैन, दुई चार लाखको लोभ गर्दैन भनेर अर्को व्यक्तिले भनिदिन्छ । त्यसैले मेरो क्यारेक्टर थाहा पाउनेले पैसाको लोभ देखाउँदैनन् । मसँग धेरै कुरा आउँदैन । तर केही केही कुरा आउँछ । लोकमान प्रकरणमा आएको हो । गोपाल बहादुर खड्काको प्रकरणमा पनि केही केही कुरा आएकै हो । सोमलाल सुवेदीको विषयमा भण्डाफोर गर्दा राजिनामा गर्न बाध्य भए र त्यहाँ पनि केही कुरा आए । सिधै भन्ने आँट कसैले गरेको छैन ।
तपाई आफूलाई आएको प्रस्ताव त नकारिदिनुहुन्छ । तर पार्टीमार्फत् कत्तिको दबाबहरु आउँछन् ?
पार्टीको तर्फबाट केही आएको छैन । किन यस्तो बोलिस् भनेर कुनै नेताले भनेका छैनन् । अरु च्यानलबाट आउने कोशीस गर्यो । भेटौं भन्ने कुरा आए । तर किन भेट्ने ? भेट्ने भन्ने पैसाको लागि हो । मैले इश्यु उठाएपछि त्यती कोसिस गरेका छैनन् ।
अब क्षेत्र निर्धारण आयोगको प्रतिवेदनको कुरा गरौं । प्रतिवेदनको विरोध तपाइको क्षेत्रका विभिन्न पार्टीहरुले गरिरहेका छन् । के भन्नुहुन्छ ?
असन्तुष्टी जायज छ । ४८ साल, ५१ साल, ६४ सालमा गरेर पटक पटक निर्वाचन क्षेत्र निर्धारण गरियो । अहिलेसम्मको अभ्यासविपरीत यो पटक निर्वाचन क्षेत्र निर्धारण भयो । एउटै नगरपालिकालाई तीन चार वटा निर्वाचन क्षेत्रमा बाँडियो । तर यो उपयुक्त भएन । यो विषयमा मैले पार्टीभित्र अनि अन्य पार्टीका नेताहरु जस्तै विजय गच्छदारजीसँग पनि कुरा गरेँ ।
मैले के कुरा राखेँ भने, चार क्षेत्र हुन्छन् भने चार वटा पोइन्टलाई आधार बनाएर निर्वाचन क्षेत्र बनाउँ । जस्तै इटहरी, दुहबी, इनरुवा र धरान । जसले क्षेत्रगत एकताको मनोविज्ञान पनि रहन्छ, धेरै तोडफोड नगरौं भनेर कुरा गरियो । अन्तीम दुई दिन प्रतिवेदन रोक्न लगाएरै पनि कुरा गरौं ।
अहिलेको क्षेत्र निर्धारणमा भूगोल, जातिय, भाषिक क्लष्टर केही मिल्दैन, आवतजावत केही मिल्दैन । निर्वाचन क्षेत्रमा लड्न, मतदाताबिच सामिप्यतामा पनि समस्या भए । तरहराको जंगल छेउबाट कप्तानगञ्जको बोर्डरसम्म पुग्नुपर्ने अवस्था छ ।
अफ्ठ्याराका बाबजुद निर्वाचन क्षेत्र आयो, संविधानमा हिसाबले यो शक्तिशाली छ । यस विषयमा कतै उजुरबाजुर नहुने गरी, कानुनमा पनि नकसी बनाइएको हो । किनकी उजुर हुने भयो, कानुनमा कसियो भने विवादमा पर्छ र चुनाव नहुने खतरा हुन्छ भनेर आयोगलाई शक्तिशाली बनायौं । निर्वाचन क्षेत्रसम्बन्धि कानुन समितिमा गएन । सरकार र हामी केही सांसदबिच छलफल गरेर पास भएको थियो । त्यसैले आयोगले यस्तो निर्णय गर्यो ।
तर यसमा सरकारको पनि दोष छ । बेलामा आयोग बनाएन । एक महिनामा काम गर्नुपर्ने हुँदा उनीहरुको पनि बाध्यता थियो । सरकारले समय दिएर अलि अघि नै गर्नुपथ्र्यो ।
यस्तै आयोगमा सत्तासिन राजनीतिक शक्तिहरुको प्रभाव पर्यो । यो जिल्लामा यति सिट जित्नुपर्छ भनेर क्षेत्र निर्धारण गरियो । आयोगका मानिस पनि भगवान त होइनन् । व्यक्तिलाई केन्द्रमा राखेर पनि निर्वाचन क्षेत्र निर्धारण गरियो ।
यति हतारमा गरेको निर्णयलाई दीर्घकालसम्म लान सक्छौं कि बिचमा परिवर्तन गर्न सक्छौं ?
यसलाई कसैले हेरफेर गर्न सक्दैन । संविधान संशोधन गर्नुपर्छ । त्यसको लागि सबैको सहमती चाहिन्छ । दोस्रो तरिका भनेको यो आयोगको काम रिजेक्ट गर्न अर्को आयोग बनाउनुपर्छ । त्यो पनि निकै लामो समय लाग्छ । डेढ महिना निर्णयमै लाग्छ । अनि मतदाता नामावली अपडेट गर्ने हो भने हामी वैशाखसम्म पुग्छौं ।
तर अब ७८ सालमा अर्को जनगणना हुन्छ । त्यतीबेला राजनीतिक सहमती जुटाएर संविधान संशोधन गरेर क्षेत्र निर्धारण गर्न सक्छौं । अरु तरिका छैन ।
राजधानीको पनि विवाद छ । प्रदेश नं. १ मा राजधानी कहाँ बन्न सक्छ ?
राजधानी अहिले अस्थायी रुपमा नेपाल सरकारले निर्णय गरेर तोक्ने हो । अहिले सरकारसँग धेरै अधिकार छ । तर एक नम्बर प्रदेशका मानिसहरुको स्वभाविक मनोविज्ञान इटहरी राजधानी भन्ने छ । पहाडदेखि नजिक र बोर्डरदेखि पनि नजिक । एक चोटी बाढीले खोला किनारमा दुःख दियो भन्ने सामान्य कुरा हुन् । मानिसले समाधान गर्ने कुरा हुन् । त्यसैले इटहरी केन्द्र बन्नुपर्छ ।
तर केही पूर्वाधारमा अभाव छन् । त्यसको पनि उपाय छ । जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका कुराहरु जस्तै प्रदेश प्रमुखको कार्यालय विराटनगर वा धरानमा राख्दा हुन्छ । तर जनतासँग प्रत्यक्ष सम्बन्ध भएका निकायहरु भने इटहरी राख्नुपर्छ । पूर्वाधार छैन भने घर भाडामा लिएर पनि राख्न सकिन्छ । काठमाडौमा धेरै कार्यालय त्यसरी नै भाडामा सञ्चालनमा छन् ।
प्रदेशभरीका जनप्रतिनिधिको लागि सुगम इटहरी नै हो । यो कुरा हामीले प्रत्यक्ष र अप्रत्यक्ष तरिकाले माथिल्लो तहमा पु¥याएका छौं । छलफलमा इटहरी पनि छ, विराटनगर पनि छ । राजनीतिक आग्रहका कारणले अन्त लगे भने फरक कुरा हो ।
केपी ओली प्रधानमन्त्री भएको बेलामा राष्ट्रिय योजना आयोगका तात्कालिन उपाध्यक्ष युवराज खतिवडासँग कुरा भएको थियो । प्रदेशको झगडाबाट हटेर विराटनगर र इटहरी लाई मिलाएर र धरानलाई पनि जोडेर एउटा नमुना महानगर बनाउने कुरा भएको थियो । विराटनगरदेखि धरानसम्म ६ लेन बाटो बनेपछि १५ मिनेटमा आवतजावत हुन्छ । यो ठाउँमा रेल नै कुदाउँ । शहरी विकास मन्त्रालयले त्यो अवधारणाअनुसारको डिजाइन बनाउँदैछ । सरकारका मन्त्रीहरुसँग फेरी पनि कुरा गर्छु ।
तपाइ सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित सांसद तर आफ्नो क्षेत्रमा ठूला आयोजनाहरु बनाउन सक्नुभएन भन्ने आरोप छ । के भन्नुहुन्छ ?
होइन । नेपालमा नेपाल टेलिभिजनका दुई वटा मात्र प्रशारण केन्द्र राजधानी बाहिर छन् । एउटा कोहलपुर र अर्को इटहरीमा । मैले इटहरीले दिएको जग्गामा कि त काम सुरु गर्नुहोस्, कि फिर्ता दिनुस् भनेर भनेँ । ६ करोडको काम इटहरीमा भइरहेको छ । नेपालमा १४ करोडको लागतमा आधुनिक ल्याण्डफिल्ड साइड इटहरीमा बन्दैछ । नगरपालिकाले खर्च गर्न नसक्दा अघिल्लो वर्ष सात करोड रुपैया फ्रिज भएर गयो । मैले तीन वर्षअघि सुरु गरेको बाहिरी चक्रपथको कामको लागि अस्ती भर्खर इन्जिनियरको टिम आएर प्रारम्भिक सर्वे गरेर गएको छ ।
मैले दुई वर्षको प्रयत्न पछि एडीबीको टिमलाई इटहरी ल्याएँ । त्यो मेरै पहलमा हो । किनकी इटहरीमा वल्र्ड बैंक जाने, तर उसको सर्त बढी, काम गर्नै गाह्रो । त्यसैले एडीबीको टिम ल्याउन पहल गरेको थिएँ, मेरै पहलले आयो ।
मेगा प्रोजेक्टहरु एक–दुई वर्षमा सकिँदैन । मेलम्ची सुरु भएको २० वर्ष भयो, चमेलिया सुरु भएको ११ वर्ष भयो । संसारमै पनि ठूला प्रोजेक्टहरुको प्रक्रियामै तीन वर्ष समय लाग्छ ।
म सांसद भएको साढे तीन वर्ष भयो । ठूला प्रोजेक्टको आधार तय गरिदिएको छु । नेपाल सरकारका जुनसुकै मन्त्रालयमा गएर सोध्दा हुन्छ, रेवती भण्डारीले के गर्दैछ भनेर सोध्दा हुन्छ, यहाँ भन्दा उनीहरुलाई बढी थाहा छ ।
अन्तिममा आफ्ना मतदातालाई के भन्नुहुन्छ ?
इमान्दार र क्षमता भएका मानिसलाई मुलुकले सम्मान नगर्ने र हाईफाई र पैसालाई मात्र ठूलो ठान्ने । संसारमा गुड पार्लियामेन्छ र असल सांसद भनिन्छ । तर हाम्रोमा भने मन्त्री लाई महत्व दिइन्छ । इमान्दारिता, योग्यता र सत्यताको पक्षमा उभिन सक्यौं भनेमात्र हामी देश बनाउन सक्छौं । धेरै उत्साहित र धेरै निराश नबनौं ।
न्यूज लयबाट साभार




परिवर्तनपरिवर्तन इमोसनइमोसन