Advertize with us.............

​लोकप्रिय लालबाबु भर्सेज पार्टीका आशा शेखर

शेखरलाई अंक गणितको र लालबाबुलाई लोकप्रियताको भर
मोरङ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ६ विशेष चर्चामा छ । यस क्षेत्रमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैले तुलनात्मकरुपमा लोकप्रिय उम्मेदवारलाई मैदानमा उतारेका छन् । 
मोरङ क्षेत्र नम्बर ६ मा बाम गठबन्धनले एमाले नेता लालबाबु पण्डित र लोकतान्त्रिक गठबन्धनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । 
यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि जम्मा १० जनाको उम्मेदवारी रहेपनि मुख्यतः एमालेका लालबाबु पण्डित र कांग्रेसका डा. शेखर कोइरालाबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । 
मन्त्री हुँदा गरेको कामका कारण लोकप्रिय बनेका एमालेका लालबाबु पण्डित र कोइराला परिवारको विरासत थाम्ने नेताका रुपमा लिइने कांग्रेसका शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जुन मोरङ–६ का मतदाताले कसलाई रोज्ने होलान् भनेर आम सर्वसाधारणदेखि राष्ट्रिस्तरमा समेत चासोको विषय बनेको छ । 
अंकगणितमा शेखर अगाडी 
मोरङ–६ मा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका पूरै र विराटनगर महानगरपालिकाको ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडा पर्छन् । जहाँ १ लाख १० हजार ३ सय २२ मतदाता रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसले १९ हजार ८ सय २, नेकपा एमालेले १८ हजार १ सय ६८, माओवादी केन्द्रले ८ हजार ६८, फोरम लोकतान्त्रिकले ८ हजार १ सय ९६, संघीय समाजवादी फोरमले ४ हजार ६ सय ७७ र राप्रपाले २ हजार ५ सय ९९ मत पाएका थिए । 
जस अनुसार वाम गठबन्धनको पक्षमा २६ हजार २ सय ३६ मत रहेको छ भने कांग्रेसको पक्षमा २७ हजार ९ सय ९८ मत रहेको छ । यस आधारमा वाम गठबन्धनभन्दा नेपाली कांग्रेस १७ सय ६२ मतले अगाडि देखिन्छ । साथै राप्रपाले समेत कोइरालालाई नै समर्थन गरेकाले राप्रपाको २५ सय ९९ मत जोड्दा कांग्रेस ४ हजार भन्दा बढी मतले अगाडी देखिन्छ । उता संघीय समाजवादी फोरम नेपालले भने आफ्नै उम्मेदवार उठाएको छ ।
सर्वत्र लोकप्रिय लालबाबु 
एमालेका लालबाबु पण्डित पार्टी भित्र मात्र नभइ बाहिर समेत लोकप्रिय छन् ।  मन्त्री हुँदा गरेको कामका कारण लालबाबु पण्डितको लोकप्रियता शेखर कोइरालाको तुलनामा भारी छ । सामान्य प्रशासन मन्त्री भएका बेला निकै दबाब र धम्कीकाबीच बाहालवाला सरकारी कर्मचारीले डीभी–पीआर लिन नपाउने कानुन बनाएर चर्चामा आएका नेता हुन् पण्डित । 
सादा जीवन र नरम स्वभावका पण्डितलाई एक आदर्श र इमान्दार नेताको रुपमा सर्वसाधारणले समेत लिने गरेका छन् । यतिबेला सामाजिक सञ्जालहरुमा समेत लालबाबु जस्तो नेताले हार्नु हुँदैन भनेर उनको पक्षमा एक किसिमको लहर नै चलेको देखिन्छ । कतिपयले लालबाबुलाई चुनाव खर्च भन्दै विदेशबाट रकम संकलन गरेर समेत पठाएका छन् । 
लोकप्रियताको कसीमा हेर्ने हो भने शेखरको अगाडी लालबाबु निकै भारि देखिन्छन् । शेखर पनि पार्टीमा लोकप्रिया नेता नै हुन् तर लालबाबुको लोकप्रियताको अगाडी उनी निकै पछि छाडिन्छन् । तसर्थ लोकप्रिय र आदर्श उम्मेदवार हुनु लालबाबुले जित्ने गतिलो आधार हो । 
काँग्रेसका आशा शेखर 
यता कांग्रेसका कोइरालालाई पनि सादगी र पार्टीकै नेतृत्व गर्ने सम्भावना भएका नेताको रुपमा लिइन्छ । उनलाई भावि पार्टी सभापति र प्रधानमन्त्रीको रुपमा लिने गरिन्छ । 
उनी कांग्रेसभित्रको आन्तरिक निर्वाचनमा पनि सर्वाधिक रूचाइएका नेता हुन् । पछिल्लो महाधिवेशनबाट उनी सर्वाधिक मतसहित केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । उनलाई कोइराला परिवारको विरासत थाम्ने उत्तराधिकारी पनि भनिन्छ । कांग्रेस संस्थापक नेता बीपीका भाइका छोरा शेखरलाई कोइराला परिवारको विरासतले पनि चुनाव जित्न केहि बल पुर्याउने देखिन्छ ।  
राष्ट्रवादी लालबाबु 
एमाले नेता लालबाबु पण्डितलाई राष्ट्रबादी नेताको रुपमा लिइन्छ । जुनसुकै पोशाक लागऊँदा पनि शिरमा नेपाली ढाका टोपी लगाउन नछुटाउने लालबाबु सँधै राष्ट्रियताको वकालत गर्छन् । 
सरकारी कर्मचारीले डीभी पीआर लिन नपाउने कानुन बनाउने क्रममा समते उनले सँधै राष्ट्रियतालाई नै जोडे । उनले सरकारको प्रतिनिधि भएर विदेशको नागरिकता लिनेलाई कारवाहीको दायरामा ल्याउनै पर्नेमा जोड दिए । उनी पूर्व सरकारी कर्मचारीले समेत डीभी पीआर लिन नपाउने कानुन ल्याउन चाहन्थे तर निकै दबाबका कारण उनले त्यो अडान भने छाड्नुपर्यो । 
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डिभी पीआरको विषयमा कुरा उठाउँदा पाँच पटकसम्म मन्त्री पद छाड्नुपर्ने अवस्था आएको जानकारहरु बताउँछन् । उनी मन्त्रिपरिषदको बैठकमा एक्लै तीन घन्टासम्म डीभी–पीआरको विपक्षमा बहस गर्थे ।
पार्टीकै नेताहरुले नै यसले तपाइँको ज्यान खतरामा भयो भन्दा समेत उनले हिम्मत हुनेले झन्डा ओडाउनुहोला भनेर जवाफ दिने गर्थे । 
दुबैमा पहाड–मधेसको समिश्रण
एमालेका लालबाबु पण्डित र कांग्रेसका शेखर कोइराला दुवैमा हामी मधेस र पहाडको समिश्रण भेट्न सक्छौं । लालबाबु पण्डित मधेसी समुदायका हुन् भने शेखर कोइराला पहाडी समुदायका हुन् । तर दुवै नेता अर्को समुदायसँग नजिकको सम्बन्ध राख्छन् र खुलेर समर्थन गर्ने गर्छन् । 
लालबाबु पण्डित नेपाली ढाका टोपी लगाउने कमै मधेसी नेता भित्र पर्दछन् भने शेखर कोइराला प्रायः मधेसीले लगाउने गम्छा र कुर्तामा देखिने थोरै पहाडे नेतामा पर्दछन् । यता लालबाबुले त पहाडे समुदायकी एमाले कार्यकर्तासँग विवाह नै गरेका छन् । 
मधेसी समुदायका लालबाबुको पहाडी समुदायसँग राम्रै घुलमिल छ भने पहाडी समुदायका शेखर मधेसमै हुर्केकाले मधेसी समाज र सँस्कृतिसँग नजिक छन् । एमालेका लालबाबु पहाडे समुदायको राष्ट्रवादी धार नजिक छन् भने कांग्रेसका शेखर मधेसवादी भावना नजिक छन् ।  
जसका कारण यी दुई नेताबीच प्रतिस्पर्धा भइरहँदा मधेसी वा पहाडी भोटहरु जातिय आधारमा एकापट्टी मात्र जाने सम्भावना निकै कम छ । यहाँ धेरै पहाडीले लालबाबुलाई मन पराउँछन् भने त्यति नै मधेसी शेखर कोइरालाको नजिक छन् ।  
माथिका कुराहरु बाहेक अन्य केही कारणले मोरङ–६ को चुनावी जोड–घटाउमा प्रभाव पार्न सक्छन् । जस्तै नेपाली कांग्रेसका डा शेखर कोइरालालाई कांग्रेस भित्र हिन्दूराज्यको पक्षधरका रुपमा चिन्ने गरिन्छ । जसका कारण हिन्दूराज्य पक्षधरको मत कोइरालाले केही तान्न सक्ने देखिन्छ । त्यसो त हिन्दूराज्यको पक्षधर राप्रपाले यस क्षेत्रमा कांग्रेसलाई समर्थन नै जनाइ सकेको छ ।
यता शेखर कोइरालालाई भारत परस्त भएको आरोप समेत लाग्ने गरेको छ । जसका कारण भारतको विरोध गर्दै राष्ट्रवादको वकालत गर्नेहरुको बाक्लै बसोबास रहेको यस क्षेत्रमा उनको भोट केही घट्न सक्छ । 
समग्रमा, स्थानीय तहको परिणाम, कोइराला परिवारको विरासत र मधेसी तथा थारु समुदायसँग राम्रो घुलमिल भएका पहाडी उम्मेदवार हुनु शेखर कोइरालाले चुनाव जित्ने आधार हुन् । 
यता मन्त्री हुँदा लोकप्रिय काम गर्नु, राष्ट्रवादी नेताको रुपमा चिनिनु र मधेसी र पहाडी दुवै समुदायसँग घुलमिल हुनु लालबाबु पण्डितले चुनाव जित्ने आधार हुनसक्छन् । अंकगणित र विरासतका कारण अगाडी देखिएका शेखरलाई पराजयको स्वाद चखाउन लालबाबुको लोकप्रियता र राष्ट्रियता कतिको काफि हुने हो त्यो भने परिणामले नै देखाउने छ ।



सबैभन्दा नयाँ
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस