यातायात व्यवस्था विभागले जेठ दोस्रो सातादेखि भूकम्पपीडितलाई टयाक्सी नम्बर उपलब्ध गराउने भएको छ । वैशाख २६ गतेदेखि गोलाप्रथाद्वारा नम्बर छनोट गरेर उपलब्ध गराउने योजना रहेकोमा स्थानीय निर्वाचनले गर्दा ढिलाइ हुने विभागले जनाएको छ । विभागका अनुसार सबै कर्मचारी स्थानीय तहको निर्वाचनमा खटिने भएकाले मिति सार्नुपरेको हो । जेठ १३, १४ र १५ गते टयाक्सी नम्बर उपलब्ध गराइने विभागले जनाएको छ । यसका लागि सरकारले गत साउनमा आवेदन माग गरेको थियो । ‘तीन दिनसम्म गोलाप्रथाद्वारा छनोट गर्छौं,’ विभागका प्रवक्ता टोकराज पाण्डेले भने, ‘एउटा नम्बर छनोट गर्न करिब ५ मिनेट लाग्छ ।’
१५ सय वटा नम्बरका लागि करिब १ लाख ४८ हजारले आवेदन दर्ता गराएका थिए । आवेदक भूकम्पपीडितलाई गोलाप्रथाबाट छनोट गरी १५ सय जनालाई टयाक्सी खरिद गर्न दिइनेछ । २०७२ जेठ २८ मा मन्त्रालयले भूकम्पपीडितलाई टयाक्सीको अनुमति दिने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीको दबाबले मन्त्रालय र यातायात व्यवस्था विभागले उक्त निर्णय कार्यान्वयन गर्न ढिलाइ गरेका थिए । दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा गरी १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सूचीकृत गरेको छ ।
टयाक्सीमा भन्सार छुट तथा कुनै पनि सहुलियत भने नभएको पाण्डेले बताए । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिका पालामा ३ हजार ३ सय ५० वटा नयाँ टयाक्सी थप्ने निर्णय भएको थियो । त्यसमध्ये सर्वसाधारणलाई ७ सय, यातायात व्यवसायीलाई ६ सय ५० र टयाक्सी चालकलाई ५ सय नयाँ टयाक्सी दिने निर्णय भएको थियो । सर्वसाधारण, यातायात व्यवसायी र टयाक्सी चालकले गोलाप्रथाबाट टयाक्सी प्राप्त गरिसकेका छन् । नयाँ टयाक्सी थप्दा भाडा दर र टयाक्सीको मूल्य घट्ने भन्दै भूकम्पपीडितका नाममा थप टयाक्सी नभित्र्याउन टयाक्सी व्यवसायीले दबाब दिँदै आएका थिए । विभागका अनुसार उपत्यकामा हाल ७ हजार टयाक्सी छन् । तीमध्ये ५ हजार ६ सय ५० पुराना र १ हजार ८ सय ५० नयाँ टयाक्सी छन् ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन