- शंकर आचार्य, पर्सा
कार्तिक ७, २०७४-वीरगंज कारागारकी महिला कैदी ४६ वर्षीया प्रभावति कुर्मिनलाई भ्याई नभ्याई छ । नजिकिएको छठ पर्वको तयारीमा उनी जुटेकी छिन् । ‘वर्ष दिनको चाँड हो,’ उनले भनिन्, ‘जेलमै बसेपनि धार्मिक आस्था र विश्वास त कहाँ मर्दो रहे छ ।’ उनले कारागारमै १२ बर्ष यता छठ पर्व मान्न थालेको बताइन् ।
अर्की कैदी हरकेशिया देवी पनि छठको ब्रत लिंदै छिन् । मंगलबार यस पर्व अन्तर्गत ‘नहाय खाय’ विधिको लागि उनले नुहाएर शुद्ध चोखो भई लौकाको तरकारी र भात खाएको बताइन् । ब्रतालुले यस दिन लौकाको तरकारी वा तोरीको साग संग भात खाने चलन छ ।
प्रभावति र हरकेशिया जस्ता २८ महिला कैदीबन्दीले यस बर्ष कारागारबाटै छठ पर्व मान्दैछन् । छठको रौनक कारागारमा राम्रैसंग भित्रिएको छ । कारागारको अग्लो पर्खालबीच पनि ब्रतालुहरुको तयारी उत्साहजनक छ ।
पुरुष कैदीबन्दी बस्ने कारागारमा रहेको पोखरीलाई उनीहरुले भव्य रुपले सजाइएको छ । महिला कैदबन्दीलाई बर्षको २ दिन अर्थात छठ पर्वको साझ र बिहानी घाटको दिन यसरी पुरुष कैदीबन्दी परिसरमा गएर छठ पुजा गर्ने अनुमति कारागार प्रशासनले दिन्छ ।
कारागारस्थित नेपाल प्रहरीको इकाईका प्रमुख प्रहरी नायब निरीक्षक पदमबहादुर श्रेष्ठले धार्मिक आस्थासंग जोडिएको बिषय भएकाले महिला कैदीबन्दीलाई सहजतापूर्वक यो पर्व मान्न सक्दो सहजिकरण गरिदिएको बताए । ‘यो विशुद्ध धार्मिक आस्था संग जोडिएको कुरो हो,’ उनले भने, ‘त्यस कारण हामीले पनि ब्रतालु महिला कैदीबन्दीलाई सक्दो सहजतापूर्वक यो पर्व मान्ने वातावरण बनाई दिएका छौं ।’
मंगलबारै सामाजिक संस्था रुङ्गटा वेलफेयर सोसाइटीले महिला कैदीबन्दीलाई यो पर्व मान्न सहज होस् १ सय ४ थान पिठोको प्याकेट र १ सय ४ वटा साडी सहयोग स्वरुप बितरण गरेको छ । त्यसैगरी कैदीबन्दीको आन्तरिक प्रशासनले पनि २८ जना ब्रतालुलाई २८ हजार ५ सय रुपैयाँ बराबरको छठ पुजाको सामग्री उपलब्ध गराएको प्रनानि श्रेष्ठले जानकारी दिए ।
अघिल्ला वर्षहरुमा महिला कैदीबन्दीहरुलाई अर्थ अभावकै कारण यो पर्व मान्न समस्या हुने गरेकोमा यस बर्ष दाता र आन्तरीक प्रशासनबाटै सहयोग जुटेपछि त्यो समस्या भएन ।
कान्तिपुर




परिवर्तनपरिवर्तन इमोसनइमोसन