सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेसँगै डीआइजी नवराज सिलवालले पहिलोपटक सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका थिए ।
सोही मुद्दा उपर फैसला सुनाउँदै प्रधानन्यायाधीश कार्की नेतृत्वको बेञ्चले कार्यसम्पादन मूल्यांकन (कासमु) आधारमा सिलवाल अगाडी रहेको भन्दै उनैलाई प्रहरी महाननिरीक्षक नियुक्त गर्न परमादेश दिएको थियो ।
सरकारले सर्वोच्चको फैसला आउनासाथ हतारमा सिलवाललाई प्रहरी प्रधान कार्यालयको बागडोर सुम्पन चाहेन । बरु, कार्यसम्पादन मूल्यांकनको पोको खोलेर हिसाब हेर्ने नीति लियो ।
सरकारी तयारी एकाएक बाहिरिएपछि नवराज सिलवालका वारेमा दुईथरी कार्यसम्पादन मूल्यांकन बाहिर आए । एउटामा सिलवालले ३८ नम्बर पाएका थिए, अर्कोमा ४० ।

दुईप्रकारको नम्बर उल्लेखित कार्यसम्पादन मूल्यांकन गृहमन्त्री बिमलेन्द्र निधी र प्रधानमन्त्री प्रचण्डको हातमा समेत पुग्यो । सिलवाल पक्षधरले ४० नम्बरवाला कासमु सक्कली भएको दाबी गर्न थालिसकेका थिए, यद्यपि त्यतिन्जेल प्रकाश अर्याल प्रहरी प्रमुखमा नियुक्त भैसकेका थिएनन् । देश दुईतिर विभाजित भयो, सिलवालको पक्ष विपक्षमा ।
यो घटनाले सरकारी निकायमा तरंग आयो । एकाएक यसरी कसले बाँड्यो दुईथरी कासमुको फोटोकपी ? सरकारी संयन्त्रसहित यसको खोजी थाले सत्तारुढ दलले । उनीहरुको दावी अनुसार कार्की आफैले नै सिलवालको कासमु बाँड्न लगाएकी थिइन् । योसँगै निलम्बित प्रधानन्यायाधीश सुशीला कार्र्कीमाथि डिआईजी नवराज सिलवालको ‘नक्कली’ कार्यसम्पादन मूल्यांकन (कासमु) बाँडेको आरोप लागेको छ ।
कानुन अनुसार कार्यसम्पादन मूल्यांकनको सक्कल प्रतिको प्रतिलिप बनाउन मिल्दैन ।
‘सक्कली कासमु खोल्नबाट रोक्न सके सिलवाललाई आईजिपीको फुली जिम्मा लगाउन सकिनेमा उहाँ (कार्की) विश्वस्थ हुनुहुन्थ्यो’ प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारी भन्छन्, ‘तर सरकारले समिति बनाएर कासमुको फाईल खोल्दा प्रकाश अर्याल अग्रभागमा देखिए ।’
आईजिपी नियुक्ती गर्नुअघि कार्यसम्पादन मूल्यांकनको सक्कल फाईल खोल्न नपर्ने मत गृहमन्त्री निधिले पनि राखेको एक मन्त्री बताउँछन् । यस विषयमा कुरा गर्न निधी सिलवालको नक्कली कासुम बोकेर कांग्रेस सभापति शेरबहादुर देउवा निवास समेत पुगेका थिए । देउवाले आफ्नो कुरा नसुनेपछि दुईबीच सम्बन्ध चिसियो । पछि, बरियता विवाद देखाएर आईजिपी नियुक्ती गर्ने बैठकमा निधी सहभागी भएनन् ।
अचम्म के भएको रहेछ भने पहिले प्रधानमन्त्री र गृहमन्त्री लगायतका सरकारी अधिकारीलाई बाँडिएको कासमुको फोटोकपी पछि केही सञ्चार माध्यमलाई पनि वितरण गरिएको थियो । कतिपय सञ्चार माध्यमले सरकारले नै किर्ते गरेर सिलवालको दुईथरी कासमु बनाएको दाबी पनि गरेका थिए । तर, फरेन्सिक जाँचबाट उक्त कासमुको कपी नक्कली भएको पुष्टि भयो ।
त्यसदिन दुर्गा सुवेदीले भेटे बर्षमान
सुशीला कार्कीको श्रीमान हुन् दुर्गा सुवेदी । कांग्रेस राजनीति गरेका सुवेदी केही महिनाअघि मात्र अस्पतालबाट फर्किएर स्वास्थ्य लाभ गरिरहेका छन् ।
प्रधानन्यायाधीको सरकारी निवास वालुवाटारमा बस्दै आएका सुवेदीसमेत नवराज सिलवालकै पक्षमा लागेको आरोप लाग्यो ।
गत चैत २८ गते आईजिपी नियुक्तीका लागी मन्त्रिपरिषद् बस्नुअघि सुवेदी माओवादी नेता बर्षमान पुन (अनन्त) लाई भेट्न पुगेका थिए । सभामुख ओनसरी घर्र्तीमगरको सरकारी निवासमा अनन्त र सुवेदीबीच लामो कुराकानी भएको स्रोतको भनाई छ ।
स्रोतका अनुसार सुवेदीले त्यसदिन कार्यसम्पादन मूल्यांकनको सक्कल फाईल नखोलिकन आईजिपी नियुक्तीबारे निर्णय लिन बर्षमान पुनसँग आग्रह गरेका थिए ।
यस विषयमा अनन्तसँग बुझ्न खोज्दा उनले भेट भएको बताए । तर, उनले भेटमा के विषयबस्तुमा कुराकानी भयो भन्ने स्पष्ट गरेनन् ।
तर, सुवेदीले बर्षमान आफूलाई भेटन आएको बताए । त्यसदिनको भेटमा भएको कुराकानीवारे रातोपाटीसँगको टेलिफोन सम्पर्कमा सुवेदीले भने, ‘सरकारले पठाएको डकुमेन्ट अदालतले हेरेको हो । सरकारी मापदण्डमा सिलवालको नम्बर धेरै रहेछ भन्ने सामन्य कुरा भएको थियो । अरु कुरा उहाँले (बर्षमान) आफैले बोल्नुभएको छ ।’
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवालाई आईजिपी नियुक्तीका लागी सक्कल फाईल नखोली निर्णय गरौं भन्ने लविङमा अरु पनि थिए ।
स्रोतका अनुसार लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, मुख्य सचिव डा. सोमलाल सुवेदी र गृहमन्त्री विमलेन्द्र निधीले समेत कासमुको सक्कल फाईल नखोलिकन नवराज सिलवाललाई आईजिपी नियुक्त गर्न दवाव बनाइरहेका थिए ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन