माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि कांग्रेससित सत्ता हस्तान्तरणबारे के सहमति भएको थियो ? यो सार्वजनिक भएको नभए पनि यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुन हतार भइसकेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मधेसी दलसँगको बैठकमा त्यो अझ स्पष्ट भयो ।
प्रदेशको सीमांकन संघीय आयोगबाट टुंगोमा पुर्याउने विषयमा सहमति गर्ने मधेसी दलले निर्वाचनको मिति केही पर सार्नुपर्ने माग गरेपछि शुक्रबारको बालुवाटार बैठकमा कांग्रेसका नेताहरुले आपत्ति जनाए । प्रधानमन्त्री दाहाल मधेसी मोर्चाको मागमा लचक हुँदै आवश्यक परे दुई चरणमा निर्वाचन गर्ने मनस्थितिमा पुगेका थिए । तर, कांग्रेसका नेताहरुले दुई चरणमा निर्वाचन हुँदा सरकारको नेतृत्व गर्न ढिलाइ हुन सक्ने भएकाले असहमति जनाए । मधेसी दलसँग सहमति गरी निर्वाचनमा जाने मनस्थितिमा पुगेको भए पनि प्रमुख सत्तारुढ दल कांग्रेस दुई चरणमा निर्वाचन गर्न सहमत नभएपछि फेरि पछि हटेको छ । प्रधानमन्त्री दाहालले मधेसी दललाई सहमतिमा ल्याउन संविधान संशोधन गर्ने र दुई चरणमा निर्वाचन गर्नेबारे आन्तरिक रुपमा परामर्श समेत थालेका थिए । उनले मधेसी दलसँग सहमति गर्ने भन्दै शुक्रबार बालुवाटार बैठक बोलाएका थिए ।
मधेसी दलका नेताहरुले निर्वाचनको मिति सारेर आफूहरु सहभागी हुने बताइसकेका थिए तर कांग्रेसका नेताहरुले चर्को आपत्ति जनाए’ उच्च स्रोतले भन्यो, ‘सहमति गरी दुई चरणमा निर्वाचन गराउन मधेसी दलका नेताहरु करिब सहमत छन् ।’
शुक्रबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएको बैठकमा मोर्चाले जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्ने र मतदाताको नामावली थप्न अडान राखे पनि उसको भित्रि चाहना निर्वाचनको तयारीका लागि मिति सार्नु थियो । जुन कांग्रेसका लागि स्वीकार्य हुन सक्ने विषय थिएन । किनकि निर्वाचन सार्ने कुराले सरकारको नेतृत्व ढिलाइ मात्र होइन, अनिश्चित हुने देउवाको बुझाइ छ । देउवाले निकट नेताहरुसँग वैशाख ३१ को निर्वाचन सारे हुने परिणाम र सत्ताको नेतृत्वबारे परामर्श गरेका थिए । देउवा जसरी पनि जेठको अन्तिम सातासम्म प्रधानमन्त्री हुने तयारीमा भएको उच्च स्रोतको भनाइ छ । प्रधानमन्त्री दाहालको वैशाख ३१ मा निर्वाचनमा मधेसी दललाई सहमत गराउन अन्तिम समयसम्म प्रयास गर्ने र आवश्यक परे उनीहरुको प्रभाव रहेका तराईका जिल्लामा दोस्रो चरण अर्थात् जेठ अन्तिम साता निर्वाचन गर्न सकिने बुझाइ छ । स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सुरु गरे संविधान कार्यान्वयनका लागि बाटो खुल्ने र त्यसको जस आफूलाई मिल्ने उनको दाबी छ । स्थानीय निर्वाचनको तयारी युद्धस्तरमा गर्न उनले निर्देशन गरिसकेका छन् ।
समयले यसरी दलहरुलाई च्याप्दै गएको छ कि निर्वाचनबाट उम्कने साहस मधेसी दललाई समेत छैन । मधेसीमा उनीहरु आन्तरिक रुपमा निर्वाचनको तयारीमा जुटिसकेको सार्वजनिक भइसकेको छ । मधेसी दललाई अनुकूल हुने गरी सहमति गरी सबै दललाई निर्वाचनमा सहभागी गराउन सके दाहाल पछिल्लो समय सफल नेता मानिनेछन् । त्यसकारण पनि उनी केही लचक भएर मधेसी दललाई फकाउन व्यस्त रहेका छन् । कांग्रेस सभापति देउवा भने निर्वाचन सुरु गरी प्रधानमन्त्री हुन आतुर छन् तर मधेसी दलसँग सहमति नजिक पुगेर पनि वातावरण बिग्रिएकोमा छटपटीमा परेका छन् । उनले सहमतिका विकल्पबारे प्रधानमन्त्री दाहालसँग संवाद थालेका छन् ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन