Advertize with us.............

बैंकमै थन्कियो राहत रकम

जिल्लाको पूर्वी आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्तिबजारमा ७३ परिवार विस्थापित हुनेगरी आगलागी भएको चार महिना बित्न लागेको छ ।
यस अवधिमा विस्थापित परिवारलाई छिमेकी जिल्ला, देश तथा विदेशबाट विभिन्न सङ्घसंस्था र व्यक्तिले राहत सहयोग उपलब्ध गराएका छन् । पीडितलाई राहतस्वरुप आएका जिन्सी सामग्री तत्कालै वितरण गरिए पनि नगद सहयोग भने उपलब्ध गराउन सकिएको छैन ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले म्याङ्लुङस्थित नेपाल बैंकमा सङ्क्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना राहत कोष’ स्थापना गरेर रकम जम्मा गरेको छ । अहिलेसम्म सो कोषमा रु ५३ लाखभन्दा बढी रकम जम्मा भइसकेको छ । तर पीडितका हातमा भने एक रुपैयाँ पनि पुगेको छैन । राहतमा प्राप्त भएको रकम कुन मापदण्ड अपनाएर वितरण गर्ने भन्ने अन्योल हुँदा कोषमा जम्मा भएको राहत रकम बैंकमै थन्किएको छ ।
आगलागी हुँदा पूर्णरुपमा जलेका २४ घर र आंशिक रुपमा क्षति पुगेका पाँच घरका घरधनीलाई तत्कालै जिल्ला दैवी प्रकोप उद्धार समितिले रु १०÷१० हजार उपलब्ध गराएको थियो । विस्थापित परिवारमध्ये घर भाडामा लिएर व्यवसाय गरिरहेका ३५ परिवारलाई पनि हालै सरकारले रु १०÷१० हजार उपलब्ध गराएको छ । तर त्यसबाहेक अन्य कुनै राहत सहयोग रकम पाउन नसकेको अग्नीपीडित दिपेश सिटौलाले बताए ।
“आगलागीले वर्षौंदेखि जोडेको सम्पत्ति सखाप भयो”, उनले भने – “राहत रकमको पाउन नसक्दा फेरि व्यवसायमा फर्किन सकेका छैनौँ ।” सिटौलाको हार्डवेयर, आइएमई र किराना पसल थियो । आगलागीमा सबै ध्वस्त भएपछि अहिले फेरि उनले पुरानै व्यवसायलाई नयाँ ठाउँमा कोठा भाडामा लिएर सुरुवात गरेका छन् ।
“व्यवसाय थाल्न हम्मे–हम्मे परिरहेका बेला राहतमा आएको रकम पाए थोरै भए पनि सहयोग पुग्थ्यो,” सिटौलाले भने ।
सिटौलाले जस्तै आगलागीपछि लथालिङ्ग बनेको व्यवसाय पुनःस्थापित गर्दैछन् अधिकांश अग्नीपीडित । तर आगलागीले एक चौथाइ बजार जलेपछि बजारमा कोठा भाडामा पाउनै मुस्किल भएको पीडितको गुनासो छ ।
“आगलागीपछि व्यवसाय थाल्न निकै मुस्किल परेको छ,” अग्नीपीडित खगेन्द्र चोङवाङले भने । आगलागीपछि केही व्यवसायी पूर्णरुपमा विस्थापित भएका छन् । घर भाडामा लिएर व्यवसाय गरेकाहरुको करोडौँको धनमाल जलेपछि व्यवसाय थाल्न ऋण काढ्नुपरेको छ । घरधनीलाई फेरि कसरी घर ठड्याउने भन्ने चिन्ता छ ।
“तरकारी बेचेर जम्मा गरेको पैसाले जोडेको घर आँखैअघि खरानी भयो,” अग्नीपीडित सुभद्रा बानियाँले पीडा सुनाए – “आधा जीवनको कमाइ त्यही थियो, फेरि घर बनाउने आँट छैन ।” राहतमा आएको रकम पाए केही गर्न सकिन्छ की भन्ने आशमा पीडित रहेका छन् ।
सरकारले व्यवसायीलाई बिनाधितो ऋण र घर बनाउन अनुदान उपलब्ध गराउनुपर्ने पीडितको माग छ । उनीहरु राहत कोषमा जम्मा भएको रकम पाए पनि आफूहरुलाई दैनिकी चलाउन सजिलो हुने बताउँछन् । अग्नीपीडितका लागि सङ्कलित रकम उचित मापदण्ड बनाएर यथाशीघ्र वितरण गर्न सङ्क्रान्तिबजार उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम पौडेलले माग गरे ।
“अधिकांश पीडित फेरि व्यवसायमा फर्किन चाहन्छन्, बैंकमा जम्मा भएको राहत रकम तत्काल उपलब्ध गराउनुपर्छ ।” उनले भने । सहयोग रकम बैंकमै थन्किएको खबरले दाता समेत खुसी छैनन् । रकम यतिका समयसम्म वितरण नहुँदा थप सहयोग गर्न चाहेका दाता समेत मुठी कसेर बसेका सङ्क्रान्तिबजार अग्नीपीडित राहत सङ्कलन समिति काठमाडौँका संयोजक मोहनकुमार डाँगी बताउँछन् ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले सङ्कलित रकम वितरणको मापदण्ड बनाउन छुट्टै कार्यदल बनाएको जनाएको छ । जिल्ला सरकारी वकिलको संयोजकत्वमा बनेको समितिमा सहायक प्रमुख जिल्ला अधिकारी, रेडक्रस र प्रहरी प्रमुखसमेत छन् । कार्यदल र प्रधानमन्त्रीले घोषणा गरेको राहत प्याकेज दुवैको अवधारणापछि मात्रै जिल्ला दैवी प्रकोप उद्धार समितिले राहत वितरण अगवाडी बढाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
“एउटै निकायबाट जाने राहत एकैपटक एउटै मापदण्डमा वितरण गर्दा राम्रो हुन्छ,” तामाङले भने । अग्नीपीडितका लागि बैंकमा हालसम्म रु ५३ लाख ३५ हजार जम्मा भएको छ । जिल्लाका विभिन्न सङ्घसंस्थासहित ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, काठमाडौँलगायत देश विदेशबाट राहत रकम सङ्कलन भएको हो 
आगलागीस्थलको निरीक्षण गर्दै अग्नीपीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री राहत कोषबाट तत्काल रु एक करोड दिने घोषणा गरेका थिए । तर सो रकम अहिलेसम्म प्राप्त हुन नसकेको प्रजिअ तामाङले बताए ।
सङ्क्रान्तिबजारमा गत पुस १ गते आगलागी भएको थियो । आगलागी हुँदा २४ घर पूर्णरुपमा जलेका थिए भने पाँच घरमा आंशिक क्षति भएको थियो । आगो निभाउने क्रममा तीनवटा टहरा समेत भत्काइएका थिए । सो आगलागीबाट रु १४ करोड आठ लाखको धनमाल जलेर नष्ट भएको थि
सङ्क्रान्तिबजार अग्नीपीडितका लागि काठमाडौँमा हालसम्म रु ११ लाख ८६ हजार सङ्कलन भएको छ । तेह्रथुम सरोकार समाज काठमाडौँमार्फत रु आठ लाख ४४ हजार, सिटौला सेवा समाजमार्फत रु तीन लाख ४२ हजार सङ्कलन भएको राहत सङ्कलन समितिका संयोजक मोहनकुमार डाँगीले जानकारी दिए ।
यस्तै सङ्क्रान्तिबजारका अग्नीपीडितका लागि ग्लोबल तेह्रथुम सेवा समाज, दक्षिण कोरियाले रु पाँच लाख ८० हजार रकम सङ्कलन गरेको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस