द्वन्द्वपीडितलाई न्याय दिनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले द्वन्द्वपीडितलाई न्याय दिन नसकेको सरोकारवालाले बताएका छन् ।
स्थानीय शान्ति समिति पाँचथरको आयोजनामा पाँचथर सदरमुकाम फिदिममा शनिबार आयोजित न्यायका लागि द्वन्द्वपीडितको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने द्वन्द्वपीडितले यस्तो बताएका हुन् ।
आयोगले खाटा बसिसकेको द्वन्द्वको घाउ मेटाउला भन्ने आशा गरिए पनि झनै उल्टो त्यो घाउलाई बल्झाएको भन्दै यथाशक्य चाँडोभन्दा चाँडो आफूहरुलाई न्याय दिने किसिमबाट आयोग अघि बढ्नुपर्ने उनीहरुले आयोगलाई सुझाएका छन् ।
कार्यक्रममा द्वन्द्वपीडित अम्बिका न्यौपानेले आयोगले दुई वर्षको अवधिमा केही पनि उपलिब्धमूलक काम गर्न नसकेको भन्दै अब थपिएको एक वर्षको अवधिमा द्वन्द्वपीडितलाई न्याय दिने काम गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई सुझाव दिए ।
यस्तै अर्को द्वन्द्वपीडित नारायण कोइरालाले आयोगको विश्वास गुमेको भन्दै गुमेको विश्वासको साख बचाउन भए पनि थपिएको एक वर्षको अवधिमा आयोगले द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने बताए ।
कार्यक्रममा द्वन्द्वपीडितका तर्फबाट गोपाल न्यौपाने, दिलबहादुर थाम्सुहाङ, टीकादेवी राईले पीडितले न्याय पाउन नसकेको गुनासो गरेका थिए । द्वन्द्वपीडितको जवाफ दिँदै सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य प्रवक्ता डाक्टर माधवी भट्टले आयोग विवादमा फसेर पनि काम गर्न नसकेको भन्दै अब थपिएको एक वर्षको अवधिमा पनि ५२ हजार उजुरीको अध्ययन गर्न नसकिने बताए ।





परिवर्तनपरिवर्तन इमोसनइमोसन