अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ्गमा छापा मारेको छ। जनस्वास्थ्य कार्यालयमा लाखौ रुपैयाँको बेरुजू रहेको सुचनाको आधारमा छापा मारेको हो।
अख्तियारले छापा मार्दा कार्यालयका प्राबिधीक स्वास्थ्य अधिकृत मोहम्बद वासीर मियाँको नाममा मात्रै ६२ लाख १८ हजार ९ सय ४६ रुपैयाँ बेरुजू देखिएको छ। यो बाहेक जनस्वास्थ्य कार्यालयमा कार्यरत अरु ५जना कर्मचारीको नाममा समेत बेरुजू देखिएपछि अख्तियारले अनुसन्धान शुरु गरेको कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो।
टेलिफोनमा आएको उजुरीका आधारमा सोमबार कार्यालयमा छापामारेर कागजपत्र नियन्त्रणमा लिएको भट्टराईले जानकारी दिनुभयो। नायब सुब्बा मनोज, अधिकारी स्वास्थ्य शिक्षा टेक्निसियन परशुराम संग्र्रौला, लेखापाल ध्रुबकुमार बस्नेत र तथ्यांक अधिकृत भोगेन्द्र आचार्यको नाममा समेत बेरुजू देखिएको छ। लेखापाल बस्नेतका नाममा ७ लाख ४५ हजार २ सय ३९, तथ्यांक अधिकृत भोगेन्द्र आचार्यका नाममा २ लाख ६६हजार १५ रुपैयाँ बेरुजू रहेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यस्तै परशुराम संग्रौलाको नाममा ८५ हजार ७ सय र नासु मनोज अधिकारीको नाममा भने २९ सय रुपैयाँ बेरुजू रहेको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ।
रोग निवारणको हिसाब देखिँदैन
औलो र हात्तीपाईले रोग निवारणका लागि मोरङ्ग जिल्लामा आएको लाखौ रुपैयाँको हिसाब किताब स्वास्थ्य प्राबिधीक अधिकृत वासिर मियाँले देखाएका छैनन। लामो समयदेखि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ्गमै बस्दै आएका मियाँले आर्थीक बर्ष ७१/७२मा मात्रै ३२ लाख ९७ हजार ४ सय ९ रुपैयाँ लगेर यसको फर्छयौट गरेका छैन। यो बजेट हात्ती पाइले रोग निवारण कार्यक्रमका लागि निकासा भएको बजेट हो। मियाँको नाममा आर्थीक बर्ष ६५/६६मा ३ लाख ५१ हजार,६६/६७मा ५ लाख ५ हजार सात सय ३० रुपैयाँ, ६७/६८ मा २ लाख ३३ हजार ५० रुपैयाँ बेरुजू देखिन्छ। यो सबै रकम औलो रोग निवारण कार्यक्रमका लागि आएको बजेट हो। यसैगरी ६८/६९मा ११ लाख, ४३ हजार ७ सय ३० रुपैयाँ, ६९/७० मा ७३ हजार रुपैयाँ र ७१/७२मा ३२लाख ९७ हजार ४ सय ९ रुपैयाँ मियाँका नाममा बेरुजु छ। ६८/६९ पछिको बेरुजू भने हात्तीपाईले रोग निवारण कार्यक्रमका लागि आएको बजेट हो।




परिवर्तनपरिवर्तन इमोसनइमोसन