सञ्चारमाध्यमले मानसिक स्वास्थ्यका विषयमा जनतालाई सुसूचित गराउन भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
प्रेस काउन्सिल नेपालले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने ‘कोसिस’ नामक संस्थासँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा काउन्सिलका निवर्तमान अध्यक्ष बोर्णबहादुर कार्कीले अझै पनि मानसिक रोग लागे निको हुन्न भन्ने भम्र रहेकाले उपचार गराए निको हुन्छ भन्ने सन्देश सञ्चारमाध्यमले दिनुपर्ने बताए ।
‘मिडियाले यसबारे बोल्यो भने यसको प्रभाव छिटो देखिन्छ, त्यसैले मानसिक रोगलाई लुकाएर बस्ने प्रवृत्तिमा कमी आउँछ । यसबारे कलम चलाउन जरुरी छ’– उनले भने । काउन्सिलका सदस्य किशोर श्रेष्ठले ९ सय १० अखबार काउन्सिलको वर्गीकरणमा परेका छन् त्यत्तिकै अनलाइन, टिभी छन् , ती सबैले मानसिक स्वास्थ्यलाई आफ्ना मिडियामा स्थान दिने हो भने धेरै जनचेतना फैलने बताए ।
कोसिस संस्थाका अध्यक्ष मातृका देवकोटाले मानसिक रोगलाई समाजले स्वीकार्न नसकेकाले समयमै बिरामी उपचारका लागि पुग्न नसक्ने बताए । उनले भने, ‘म आफैं मानसिक समस्याबाट करिब १५ वर्ष पीडित भएँ । मलाई रोग हो भनेर उपचारमा जानै समय लाग्यो । यस्ता कथा धेरैका छन् । जसलाई सामान्य समस्याले कडा रोगतर्फ धकेली रहेको छ ।’
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा करिब २० लाख बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य समस्याबाट प्रभावित भएको अनुमान छ ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन