कार्तिक २१, २०७४-म्याङलुङ नगरपालिकाका ६५ वर्षीय डम्बर लोहारलाई बारीमा तरकारी फलाएर नजिकै रहेको बजारमा बिक्री गर्न पाए आम्दानी हुन्थ्यो भन्ने लागेको छ । उनको बारीमा कतैबाट पनि सिँचाईका लागि पानी ल्याउने मुहान छैन । त्यसैले उनी यस पटकको निर्वाचनमा आफ्नो बारीसम्म पानी ल्याइदिने नेतालाई भोट दिने मनस्थितीमा छन् । ‘जुन नेताले पानी ल्याइदिन्छ, उसैलाई भोट हाल्ने हो’ उनले भने ।
म्याङलुङ नगरपालिका-८ आम्वुङका प्रेमबहादुर श्रेष्ठको पनि विकास गर्ने नेतालाई जिताउने मन छ । संसारी बजार नजिकै कुखुरा फार्म सञ्चालन गरेर बसेका उनले गरिब निमुखा जनताका बस्तीसम्म विकासका पूर्वाधार ल्याइदिने नेतालाई भोट हाल्ने बताए । तर, पनि आफूले खोजे जस्तो विकास गरीदिने नेता पाउन मुस्किल रहेको उनले बताए । ‘नेताले चुनावको बेला मात्र आश्वासन दिन्छन्, जितेपछि फर्किएर पनि हेर्दैनन्’ उनले भने ।
चुनाव जितेर जाने नेताहरुको व्यवहार हेर्दा भोटै हाल्न मन नलाग्ने गरेको उनले बताए । गाउँमा आएको ४८ करोड रुपैयाँ बजेटको खानेपानी आयोजना पार्टीका नेताहरुकै कारण फ्रिज भएको उनले दुखेसो सुनाए । ‘सम्झिएर ल्याउँदा पानी खान नदीने नेतालाई भोट नदिऔं जस्तो लाग्छ’ उनले भने ‘तर आफूले पाएको अधिकार कसै न कसैलाई त भोट हाल्नै पर्छ ।’
वसन्तपुर हुँदै सदरमुकाम म्याङलुङ जोड्ने २६ किलोमिटर सडक मर्मत र कालोपत्रे गर्ने काममा वर्षेनी करोडौं रुपैयाँ रकम खर्च हुँदा पनि सडकको अवस्था सुधार नभएको जिल्लावासी धेरैको गुनासो छ । लालीगुराँस नगरपालिका-१ नेभाङकी टिकादेवी बुढाथोकीको चासो पनि विकास निर्माणमै छ । ‘गाउँमा खानेपानी, सिँचाई, सडकलगायत धेरै समस्या छन्, चुनाव जित्नेले ती काम गरिदिए हुन्थ्यो भन्ने हो’ उनले भनिन् । पेसाले शिक्षक रहेका म्याङलुङ बजारका विश्वनाथ भटराईले चुनावले केही आशा थपेको भए पनि नेताको काम गराइ हेर्दा उत्साहभन्दा निराशा बढ्ने गरेको बताए । पहिलो र दोस्रो संविधानसभा र गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेतालाई भोट हालेका शिक्षक भटराईले त्यसपछिका दिनमा पनि नेताहरुले विकासका काममा खासै ध्यान नदिएको आरोप लगाए ।
नेता कार्यकर्तामा चुनावी उत्साह बढेको भए पनि मतदातामा भने खासै त्यस्तो उत्साह देखिएको छैन् । उमेदवारी दर्ता गराएका दलले जसरी पनि आफ्नो पक्षमा जित हात पार्न विभिन्न रणनीति बनाइरहेका छन् । तर मतदाता भने विकास गर्ने नेताको खोजीमा छन् । वाम गठबन्धनमा रहेका एमाले र माओवादी विगतको तीतो बिर्सिएर जसरी पनि चुनाव जित्ने तयारीका साथ गाउँ पसेका छन् । वामगठवन्धनले एमालेबाट उम्मेदवारी दर्ता गराएका नेतालाई जिताउन चुनावी कमान्डरको संयोजक माओवादी पोलिटव्युरो सदस्य दुर्गाप्रसाद चापागाईलाई बनाएको छ । उनीहरुले संयुक्त निर्वाचन परिचालन कमिटी समेत बनाएका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएको कांग्रेसले वाम गठबन्धनभित्र असन्तुष्ट रहेकाहरुलाई पार्टीमा भित्र्याएर चुनाव जित्ने रणनीति बनाएको छ । वाम गठबन्धनमा असन्तुष्टहरुलाई पार्टीमा भित्र्याउन र साना पार्टीका केही मत तान्न सके फाइदा हुने कांग्रेसको बुझाइ छ । प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दर्ता गराएकी भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले आफूले जिल्लाको सबै क्षेत्रमा पक्षपातरहित ढंगबाट विकासका पूर्वाधार पुर्याउने काममा सहयोग गरेकाले मतदाताले त्यसको मूल्याङ्कन गरेर आफूलाई जिताउने दाबी गरिन् । आफू जिल्लाको एकमात्र महिला उम्मेदवार भएकाले पनि अन्य पार्टीका महिला मतदाताको मत आफूलाई आउने उनको बुझाई छ ।
गएको स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भए पनि जिल्लाका ६ वटा तहमध्ये एमाले एक्लैले ५ वटामा जित हात पारेको थियो । अब हुने चुनावमा माओवादी पनि सँगै भएपछि हलुका कसरत गर्दा पनि चुनाव जितीने बुझाई एमालेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार दाबी नगरी माओवादीले एमालेलाई सहयोग गरेकाले चुनाव हार्ने प्रश्नै नउठ्ने वाम गठबन्धनबाट प्रदेशसभा उम्मेदवार रहेका एमाले अध्यक्ष लक्ष्मण तिवारीले बताए । यसअघि मन्त्री समेत भइसकेका र पहिलो संविधानसभा निर्वाचनमा जित हात पारेका कांग्रेस नेता तुलसी सुब्बा पार्टीबाट समानुपातिक सूचीमा समेत नपर्नु र कांग्रेसबाट समानुपातिक सभासद् भएका गणेश विमलीले दोस्रो संधिवानसभा निर्वाचनमा असहयोग गरेको भनेर पार्टीले केन्द्रमा कारवाही सिफारिस गरेको जस्ता असन्तुष्टिका स्वर कांग्रेसभित्र रहेकाले त्यसको फाइदा उठाउने ध्याउन्नमा एमाले छ । जसले गर्दा पनि चुनाव जित्नेमा एमाले ढुक्क छ ।
कांग्रेस सभापति समेत रहेका प्रदेशसभा तर्फका उम्मेदवार गोविन्द ढंगानाले पार्टीभित्र केही सानातिना मतभेद भए पनि ती सबै समाधान भइसकेको बताए । यस्ता सानातिना मतभेदले चुनावमा खासै असर नगर्ने उनले दाबी गरे । टिकट बाँडफाँडको विषयलाई लिएर वाम गठबन्धनभित्रको एमालेमा पनि विवाद देखिएको भन्दै त्यसको फाइदा लिनेमा कांग्रेस छ । तर, बहिर आएजस्तो विवाद पार्टीमा नरहेको एमालेले जनाएको छ ।
वाम गठबन्धनले कार्यकर्तालाई चुनावी गठबन्धन र पार्टी एकताबारे बुझाउन संयुक्त भेला आयोजना गरिरहेको छ । वाम गठबन्धनले जिल्लामा संयुक्त रूपमा प्रचार थालेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा वाम गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमालेका मात्र उमेदवार छन् । कान्तीपुर बाट




परिवर्तनपरिवर्तन इमोसनइमोसन