बैशाख ३१गते हुने भनेर जेष्ठ ३१मा सरेको चुनाव पटक पटक सर्नाले आफ्नो आर्थिक भार बढेको उम्मेद्वारहरुले बताएका छन। राप्रपा इटहरीकी उपमेयर उम्मेद्वार माया रायमाझी मिती सर्दै जाँदा आफ्नो खर्च बढेको बताउनुहुन्छ। उहाँले आँफुले अनावश्यक खर्च त नगरेको अनि नगर्ने भन्दै दैनिक प्रचारप्रसार र घरदैलो कार्यक्रममा जाँदा हुने खर्च भने बढेको बताउनुभयो।
यस्तै चुनावको मिती सर्नाले आफ्नो ब्यय भार बढेको एमाले इटहरीको वडा नम्बर चारका वडाध्यक्षका उम्मेद्वार चन्द्र भट्टराईले पनि बताउनुभएको छ। आफ्नो पार्टीले त्यस्तो उत्पात खर्च त नगर्ने भन्दै युवा परिचालन, प्रचार सामाग्री र खाजाखर्चमा बृद्वि भएको भट्टराईको भनाई छ। उहाँले पार्टीलाई केन्द्र वा वाह्य श्रोतबाट पैसा नआउने भन्दै स्थानीय रुपमै उम्मेद्वार आँफैले खर्च व्यवस्थापन गर्नु भनेको धेरै सकसपुर्ण काम भएको बताउनुभयो। एउटा सामान्य काजकृया गर्दा त मान्छेको राम्रो खर्च हुने बताँउदै उहाँले चुनावको मिती सरेकोले झनै आर्थिक भार थपेको बताउनुभयो। भट्टराईले ठुलो आर्थिक हैसियत नभएका र औषत आर्थिक आम्दानी हुने नेताहरुलाई यो चुनाव सरेपछि समस्यामा पारेको बताउनुभयो।
नेताहरुका अनुसार पार्टीबाट अन्तिम नामावली सार्वजनिक गरिसकेका मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुलाई झनै तनावमा पारेको छ। इटहरीका प्रभावशाली दलहरु एमाले र कांग्रेसले आफ्नो मेयर तथा उपमेयरको नाम सार्वजनिक गरेका छैनन। वडाध्यक्षका उम्मेद्वारहरु मात्रै अन्तिम गरेका एमाले र कांग्रेसका मेयर तथा उपमेयरका आकांक्षीहरुको समेत खर्च बढेको उनिहरुको भनाई छ। उता मेयर र उपमेयर सार्वजनिकै गरेका इटहरीका माओवादी केन्द्र र राप्रपाले भने घरदैलो र अन्य चुनावी प्रचारका खर्चहरु बढेको पार्टी नेताहरुले बताएका छन।
कांग्रेस इटहरी वडा नम्बर ६का वडाध्यक्षका उम्मेद्वार दीपक गौतम भने प्रचारमा सामान्य खर्च बढेपनि धान्नै नसकिने खर्च भने नभएको बताउनुहुन्छ। उहाँले आँफुहरुले आफ्नै पैसाले खाजा खाने र बाँकी पर्चा र प्रचारका कामहरुमा भने केहि बढि स्वभाविक रुपमै खर्च बढेर गएको बताउनुभयो।
इटहरीका धेरै उम्मेद्वारहरुले पटकपटक मिती सरेपछि आर्थिक भार बढेको बताइरहे पनि मिती सरेकाले जनतामा जान भने झन सहज भएको नगर नेताहरुले बताएका छन। इटहरी एमालेका मेयरका आकांक्षी रामप्रसाद चौलागाई मिती टाढिएपछि जनतामा नजिकिन पाएको बताउनुहुन्छ। उहाँले काठमाण्डौमा छोटो समयमा चुनाव हुँदा उम्मेद्वारले सबै जनताको घरदैलो पुग्न पाएनन भन्दै आँफुहरुका लागी त्यो समस्या नहुने बताउनुहुन्छ। बिदेश तिर पनि चुनावको अभियान कम्तीमा तीन महिना हुने उदाहरण दिदै चौलागाई यो सरेको मितीले जनतामा निराशा आएपनि पार्टी र नेताहरुले जनता सुन्न र बुझ्न यो समय सदुपयोग गर्नुपर्ने बताउनुहुन्छ।
माओवादी केन्द्र इटहरीका उपमेयरका उम्मेद्वार सागर सुवेदी मिती सर्दा केहि आर्थिक बोझ परेपनि आर्थिक बोझ नै मुख्य समस्या नभएको बताउनुहुन्छ। उहाँले मुख्य कुरा चुनाव भएको र आँफुहरु चुनाव कहिले हुन्छ भन्दापनि चुनाव हुनेभयो भनेर खुशी हुने बताउनुभयो। सुवेदीले यसरी सरेको मितीलाई आँफुहरुले जनताको घरदैलोमा पुग्ने अवसरको रुपमा लिनुपर्ने र आफ्नो अनुभवमा मिती नसर्दा भन्दा सरेपछि बढि जनताको घरदैलोमा पुग्न पाइएको बताउनुहुन्छ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन