Advertize with us.............

युरोपीयन युनियनले सङ्घीयताबारे भ्रम सिर्जना गर्यो

वर्गीय धरातल र जातीय सवाल भन्ने पुस्तकका लेखक राजेन्द्र किराँती लामो समयदेखि राजनीति र पत्रकारितामा संलग्न छन् । भोजपुरमा जन्मेर माओवादी आन्दोलनमा जोडिएका उनले नेपालमा सङ्घीयताको औचित्य र जातीय मुक्तिको सवाललाई कसरी सम्बोधन गर्ने भन्नेबारे चिन्तन र अध्ययन गरिरहेका छन् । उनै किराँतीसँग नेपालको सङ्घीयता र विभिन्न जाति जनजातिलाई अधिकारसम्पन्न कसरी बनाउन सकिन्छ भन्नेबारे रातोपाटीका लागि जान्ने प्रयास गरेका छन् नरेश ज्ञवालीले :
सङ्घीयता र पहिचानबीचको सम्बन्ध कस्तो पाउनु भएको छ ?
राजनीतिकरुपले सङ्घीयता र पहिचान अन्तरसम्बन्धीत कुरा हुन् । तर यसलाई लागू गर्ने दृष्टिकोणमा फरक पर्दछ । सामान्य अर्थमा सङ्घीयता भनेको राज्यको विभिन्न संरचनाहरुमध्ये एउटा संरचना हो । तर सम्पूर्ण विश्व नै वर्गीय समाजमा विभाजित भएको हुँदा सङ्घीय संरचना पनि वर्गीय हुन्छ र वर्गीय आधारले नै त्यसको परिभाषा तथा चरित्रको निर्धारण हुनेगर्छ । तर यस दिशामा हाम्रो देशमा बहस भएको छैन । त्यसैले अलिकति भ्रम छ । हामीले निर्माण गर्ने सङ्घीयतामा उत्पीडित वर्गलाई अधिकार दिने चरित्र हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । दुर्भाग्य नै भन्नु पर्छ, त्यस्तो चरित्रको सङ्घीयताका विषयमा नेपालमा बहस हुन सकेन ।
आफूलाई पहिचानको पक्षमा उभ्याउने शक्तिहरुले जातीय मुक्ति अथवा सङ्घीयताको मोडेललाई कसरी लागू गर्न खोजेका छन् ?
पहिचानवादीहरुमा पनि दुईटा राजनीतिक दृष्टिकोण छन् । माक्र्सवादी दृष्टिकोणले पनि पहिचान भन्छ । जसले सबै नागरिकको सम्पूर्ण अधिकारहरुको सुनिश्चितासहितको सङ्घीयतालाई पहिचानसहितको सङ्घीयता भन्छ । त्यस्तै अर्को भावनात्मक राजनीति गर्ने बुर्जुवा साथीहरुले पनि पहिचानसहितको सङ्घीयता भन्ने गर्छन् । यो राजनीतिक दृष्टिकोणले धर्म, संस्कृति, रहन–सहन लगायत भूगोललाई सुनिश्चित गर्ने ढङ्गले मात्रै व्याख्या गर्छ ।
तर माक्र्सवादी दृष्टिकोणले त्यति गर्दैमा त्यहाँको उत्पीडित समुदायले समान अधिकार पाउछन् भन्ने ग्यारेन्टी हुँदैन भन्छ । त्यसले हामीले उठाएको कुरा के हो भने पहिचान मात्रभन्दा कतै अमूक त भएन । सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गलाई समेट्दै उनीहरुलाई अधिकार सम्पन्न गराउन पहिचान मात्र भन्ने कुराले पुग्दैन । त्यसका लागि माक्र्सवादी राजनीतिक दृष्टिकोण नै चाहिन्छ । जो यस सवालमा अलि बढी गम्भीर छ ।
पहिचानसहितको सङ्घीयता भन्ने वित्तिकै यसको विपरीत धारबाट आउने प्रश्न के हो भने यो मुद्दा विखण्डनको दृष्टिकोणबाट ल्याइएको हो, किनभने नेपालका सबै जाति जनजातिहरुलाई छुट्टा छुट्टै राज्य कसरी दिने ? यसमा पहिचान पक्षधर माक्र्सवादीहरुले उठाउन खोजेको कुरा के हो ?
नेपालमा १२५ जातिहरु छन् । त्यसैले सबैलाई कहाँ राज्य दिन सकिन्छ भन्ने कोणबाट कुरा उठाउने मित्रहरु वास्तवमा पहिचान र सङ्घीयता नै नचाहने साथीहरु हुन् । उहाँहरु कुनै पनि उत्पीडित वर्ग, क्षेत्र, लिङ्गका जाति जनजातिहरुले समान मानवीय अधिकार पनि नपाऊन् भन्ने बुर्जुवा राजनीतिक दृष्टिकोण राख्नु हुन्छ । तर जसले सङ्घीयतालाई माक्र्सवादी दृष्टिकोणबाट उठाइरहेको छ, उसले कहिलै पनि सबै जातीहरुले राज्य पाउनुपर्छ भनिरहेको छैनन् ।
सङ्घीयता नचाहनेहरुकै मुखबाट सङ्घीयताको व्याख्या हुन थालेपछि के हुन्छ ? त्यसले यस्तै विकृत आकार ग्रहण गरेर समाजमा प्रदूषण फैलाउन थाल्छ । सबै जातिलाई राज्य दिँदा मुलुकले कसरी थेग्ने भन्ने कुरा यसैको परिणाम हो । हामीले भनेको के हो भने लामो समयको इतिहास र पहिचान बोकेको निश्चित जनसङ्ख्या भएको जाति–जनजातिलाई निश्चित समय र कार्यकालका लागि उसलाई राज्यको माथिल्लो निकायमा पुर्याऊँ । किनभने समाजलाई ओगटेर बसेको एउटै समुदायको लामो समयसम्म शासन भयो भने त्यसले समाज विकासमा योगदान दिन सक्दैन ।
माक्र्सवादले समाज विकासको मसिनो व्याख्या गर्ने हुनाले यसले शासक जाति र शासित जातिबीच पनि विकासको समान अवसर उपलब्ध गराइनुपर्छ भन्छ । त्यसैले नेपालका माक्र्सवादीहरुले नेपालमा सबै उत्पीडित जाति जनजातिहरुलाई कसरी अधिकार सम्पन्न गराउने र कसरी उनीहरुलाई राज्यको मूलधारमा ल्याउने भन्नेबारेमा बोल्न खोजेका छन् ।
विभिन्न जातिहरुको नामबाट प्रदेशको नामाकरण गर्दैमा उनीहरु अधिकार सम्पन्न हुन्छन् र उनीहरुले नै शासन गर्न थाले भने अन्य जातिका मान्छे उनीहरुबाट उत्पीडनमा पर्नुपर्दैन भन्ने आधार के ?
यसको सम्बोधन राजनीतिले गर्ने हो । नेपालमा उठिरहेको सङ्घीयताको विषय तीन–चारवटा राजनीतिक दृष्टिकोणबाट उठी रहेको छ । तर यसको प्रयोग भने गोलमटोल तवरबाट भैरहेको छ । कसैले सङ्घीयता भनेर चार अक्षरको संयोजनबाट बनेको शब्द मात्र उच्चारण गरिरहेका छन् । कसैले सामान्य भूगोलको विभाजन गरेपछिसङ्घीयता भइहाल्छ भनिरहेका छन् । केही जातिवादीहरुले सङ्घीयतालाई सङ्कीर्ण ढङ्गले उठाइरहेका छन् । त्यसैमा माक्र्सवादी राजनीतिक दृष्टिकोण बोक्नेहरुले पनि यसलाई उठाइरहेका छन् । भन्नुको अर्थ यहाँ विभिन्न वर्गीय विचार प्रस्तावनाबाट यसलाई उठाइएको छ ।
त्यसैले सङ्घीयताको विषयमा धेरै भ्रम सिर्जना भएको छ । जनतालाई हामीले जबसम्म सङ्घीयताका यी सबै पक्षहरुबारे बुझाउँदैनौँ तबसम्म कुन र कस्तो सङ्घीयता भन्ने स्पष्ट हुन सक्दैन । हामीले जनतालाई सङ्घीयता पनि वर्गीय, सामाजिक न्यायसहितको र समानताको अभ्यास गर्न मिल्ने खालको हुन्छ भनेर बुझाउनु जरुरी छ । मैले माथि नै भने यसको सम्बोधन राजनीतिले गर्छ भन्नुको अर्थ हामीले कुन राजनीतिक विचारधारामा रहेर सङ्घीयतालाई लागू गर्छ, त्यसले त्यहाँको शासन व्यवस्थाको निर्धारण गर्ने हुन्छ । माक्र्सवादी दृष्टिकोणबाट भन्ने हो भने जुनसुकै जाति जनजातिले राज्यमा शासन गरे पनि अर्को कुनै पनि जाति जनजाति त्यहाँ उत्पीडित हुनुपर्ने अवस्था आउँदैन ।
तपाईंले बुझेको सङ्घीयता र जातीय मुक्तिको सवालको खाका कस्तो हो ?
मैले बुझेको बुझेको सङ्घीयता र जातीय मुक्तिको सवाल माक्र्सवादसँग जोडिन्छ । माक्र्सवादले मानवबाट मानवमाथि हुने शोषणको उन्मूलनको कल्पना गर्छ । माक्र्सवादी विचारधाराबाट लागू गरिने सङ्घीयतामा कुनै पनि खालको शोषणको रुप त्यहाँ रहने छैन् भनेर परिलक्षित गरिएको हुन्छ । तर यहाँ त सङ्घीयतालाई भोट संरक्षित गर्ने ‘इमोसनल बल्याकमेलिङ’को रुपमा मात्र व्याख्या गरिरहेका छन् । जसले त्यहाँको जनतालाई कसरी अधिकार दिने भन्नेबारे धेरै व्याख्यानै गर्दैन ।
मैले बुझेको सङ्घीयता राज्यरुपको सबैखाले समस्या, उत्पीडनको अन्त्य, समानता र सामाजिक न्यायको आधारमा सङ्गठित गरिएको राज्य एकाइका रुपमा हो । त्यो अस्थायी र सङ्क्रमणकालीन हुन्छ । सङ्घीयताको एकाइ दीर्घकालीन ढङ्गले स्वशासित रहिरहने भन्ने हुँदैन । एउटा चरणसम्म प्रक्रियागत ढङ्गले समाजवाद हुँदै साम्यवादसम्म पुग्छ । सङ्घीयता त्यसैको प्रारम्भिक राज्यरुप हो । जब त्यो स्वशासित राज्यको पछौटे समुदायले शासक समुदायको जति अधिकार प्राप्त गर्छ त्यतिखेर सङ्घीयताको औचित्य समाप्त भएर जान्छ ।
तर बुर्जुवा विचारधाराले सङ्घीयताको त्यो स्वशासन युगौँ युगसम्म रहन्छ भन्छ । उनीहरुले भनेको सङ्घीयता केन्द्रीय राज्य सत्ताको क्षेत्रीय एकाइ मात्रै हुन्छ । केन्द्रीय राज्यसत्तामा जस्तो भेदभावपूर्ण चरित्रबाट निर्मित हुन्छ, क्षेत्रीय राज्यलाई पनि सोही ढङ्गले विकास गरिएको हुन्छ । त्यसो भएपछि कसरी त्यहाँको उत्पीडित समुदाय अगाडि आउछ र समान अधिकारको अभ्यास गर्छ ?
नेपालमा सङ्घीयता लागू गर्ने सन्दर्भमा हामीले कम्तीमा पनि सामाजिक न्यायसहितको राज्य व्यवस्थाको अभ्यास त्यो राज्यमा गर्न पाइयोस् भन्ने हो । यसो हुँदा पहिले त्यसले आन्तरिक राष्ट्रियतालाई र पछि केन्द्रीय राष्ट्रियताको निर्माणमा मद्दत गर्छ । त्यही बलियो राष्ट्रवादले उन्नत खालको अन्तर्राष्ट्रियतावाद निर्माण गर्छ । तीन कुरालाई यहाँ ध्यान दिनु पर्नेछ । आन्तरिक राष्ट्रियतावादी चेतनाबिना समग्र राष्ट्रियतावादी चेतना पूरा हुँदैन र समग्र राष्ट्रियतावादी उन्नत चेतनाबिना अन्तर्राष्ट्रियतावादी बन्न सकिँदैन । जबसम्म हामीमा अन्तर्राष्ट्रियतावादी सोच सबल हुँदैन तबसम्म समाजभित्र शोषणविहीन समाजको कल्पना गर्न सकिन्न ।
नेपालमा अभ्यास गर्न लागिएको सङ्घीयतालाई तपाईंले कस्तो पाउनु भएको छ ?
हामीले हालसम्म पछौटे समुदायका रुपमा रहेका जाति अथवा वर्गलाई अघि ल्याउन उनीहरुको विकास नहुन्जेल विशेष अधिकारसहितको आत्मनिर्यको स्वायत्त अधिकार दिऊँ भनेको हो । तर यहाँ आत्मनिर्णयको अधिकार भन्ने वित्तिकै त्यसको गलत व्याख्या गरेर छुट्टिन पाउने वैधानिक आधार भन्ने गरिएको छ, जब कि त्यसो होइन । हामीले भनेको सङ्घीयतालाई लागू गर्न सकिने आधार भनेको जनताको सङ्घर्ष, राजनीतिक चेत र ठोस रुपमा भन्नुपर्दा वर्ग सङ्घर्षले हो ।
आजको दिनमा त्यो सङ्घर्ष र जनताको दबाब रक्षात्मक छ । जनताको दबाब कमजोर भएसँगै यसका बारे अपव्याख्या, यो आवश्यक नै थिएन भन्नेहरुले पनि टाउको उठाएका छन् । राजनीतिक सङ्घर्षद्वारा प्रतिपादित एजेन्डाहरु राजनीतिबाटै सुरक्षित हुन्छन् । तर जब त्यो राजनीति नै रक्षात्मक बन्छ, त्यस्तो अवस्थामा राजनीतिक एजेन्डा जति नै अग्रगामी भए पनि त्यो तुहिने परिस्थिति बन्दै जान्छ । नेपालमा अहिले जसरी राजनीतिक एजेन्डाहरु असफल बन्दै गएका छन् । यसको मुख्य कारण नै आन्दोलनकारी शक्ति रक्षात्मक बन्नु हो । वर्तमान सङ्घीयताको मोडेल त्यसैको प्रतिफल हो ।
सङ्घीयताका मुख्य बाहकहरुले यसलाई जनताको तहसम्म पुर्याउन नसक्नुमा तपाईं कहाँ समस्या देख्नु हुन्छ ?
जसले यो एजेन्डालाई यहाँसम्म ल्याए, उनीहरुबाट कमजोरीहरु भएका छन् । पहिचान पक्षधरहरु पनि दुई भागमा विभाजित भएपछि यो समस्या आएको हो भन्ने लाग्छ । पहिचानका पक्षधरहरुमा एउटा माक्र्सवादी दृष्टिकोणबाट यसलाई हल गरौँ भन्ने र अर्को होइन यसो संरचना र रीतिथितिमा मिलाए पुग्छ भन्ने हुँदा समस्या आएको हो । माओवादी आन्दोलन, जसले यो विषयलाई उठाएको थियो त्यो नै कमजोर भएपछि यसले वास्तविक रुप ग्रहण गर्न नसक्नु यसको अर्को पक्ष हो । यसले आम रुपमा राजनीतिमा वितृष्णा निम्त्यायो र राजनीतिक प्रक्रिया अवरुद्ध हुन पुग्यो । राजनीतिक प्रक्रिया अवरुद्ध भएसँगै ऐजेन्डा उठाउने शक्ति रक्षात्मक बन्न पुगे । जनता गुमराहमा परे । राजनीति स्पष्ट नहुँदा एजेन्डालाई सही अर्थमा व्याख्या गर्ने सामथ्र्य रहेन ।
पहिचानको विषय उठ्नेवित्तिकै युरोपीयन युनियन जोडिन आइपुग्छ, यसलाई कसरी हेर्नुभएको छ ?
तपाईंले भनेको कुरा केही हदसम्म सत्य हो भन्नुपर्छ । युरोपीयन युनियन सीधा अर्थमा साम्राज्यवादीहरुको प्रतिनिधित्व गर्ने संस्था हो । त्यसका हरेक मुभमेन्ट साम्राज्यवादलाई विस्तार गर्ने हेतुबाटै आउने गर्छन् । यसले के गर्छ र के गर्दैन भन्ने कुरा तपाईंले नियाल्नुभयो भने थाहा पाउनुहुन्छ । उसले नेपालमा सङ्घीयताबारे भ्रम सिर्जना गर्ने कार्य गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले सङ्घीयता हामीले चाहेको विषय होइन, भनिदिएको मात्र हो भन्छन् भने तपाईं भावि दिनहरु कतातर्फ जाँदै गरेको देख्नु हुन्छ ?
नेपाली सेना, ओली तथा अन्य राजावादीहरुको जुन कुरा आइरहेको छ, ती सबै गतिविधिको जोड एउटै छ । हामीले बुझ्नुपर्छ नेपाली सेना, ओली र राजावादीहरुको राज्यसत्ताको वर्गीय चरित्र एउटै हो । त्यसो हुँदा उनीहरुको बोलीमा लोली मिल्नु अन्यथा भएन । त्यो स्वभाविक हो । बाह्य हस्तक्षेप पनि यसैसँग जोडिएर आउने विषय हो । यस्ता कैयौँ शक्तिहरु एक ढङ्गले भित्रभित्रै षड्यन्त्रका तानाबाना बुनिरहेका छन् । त्यसैको कडीका रुपमा नेपाली सेनाको भनाइ आएको हो । प्रतिगामीहरुले टाउको उठाउन थालेको हो भनेर बुझ्नु वस्तुवादी हुन्छ । त्यसैले राजनीतिक दलहरुले यसमा आफ्नो राजनीतिक स्वार्थ भन्दामाथि उठेर राष्ट्रको हितमा उभिने आँट गरेमा यसलाई रोक्न सकिन्छ नभए परिस्थिति कहाँ पुग्ने हो कसरी भन्न सकिन्छ ।
अर्को
« पुराना
पुराना
अन्य »

2 comments

Click here for comments
Anonymous
एडमिन
7 November 2017 at 15:33 ×

रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

Reply
avatar
Anonymous
एडमिन
7 November 2017 at 15:36 ×

रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

Reply
avatar

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस