Advertize with us.............

लेबी/शुल्क नबुझाउने एमालेबाट उम्मेदवार बन्न अयोग्य : बागी बन्नेलाई पाँच वर्ष निष्कासन

आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीले तोकेको लेबी–शुल्क नबुझाउने एमाले नेता/कार्यकर्ता उम्मेदवार बन्नबाटै वञ्चित हुने भएका छन् । अध्यक्ष केपी ओलीले निर्वाचनका लागि मातहतका कमिटीलाई विशेष निर्देशन पठाउँदै लेबी–शुल्क नबुझाउने नेता/कार्यकर्ता स्थानीय तहको कुनै पनि पदमा उम्मेदवार बन्न नपाउने प्रस्ट पारेका हुन् ।ओलीले स्थायी कमिटी बैठकको निर्णयलगत्तै स्थानीय तहको निर्वाचनका सन्दर्भमा मातहतका कमिटीलाई सोमबार (१३ चैत) मा पाँचबुँदे विशेष निर्देशन पठाएका छन् । ओलीको सो निर्देशनमा उम्मेदवार हुने मापदण्डमै लेबी र शुल्क तिरेको हुनुपर्ने प्रस्ट किटानी गरिएको छ । ‘पार्टीलाई बुझाउनुपर्ने लेबी/शुल्क नियमित रूपमा बुझाउँदै आएको,’ उम्मेदवार छनोट मापदण्डको तेस्रो बुँदामा भनिएको छ । एमालेले पार्टी सदस्यका लागि लेबी र सरकारी पद धारण गरेका सदस्यका लागि शुल्क तोक्ने गरेको छ ।
पछिल्लो समय नेता/कार्यकर्ताहरूले सदस्यता नवीकरण र राजकीय पदमा नियुक्ति पाएपछि पार्टीले तोकेको निश्चित शुल्क नतिर्ने रोग फैलिएपछि एमालेले स्थानीय तहको उम्मेदवार बन्न लेबी/शुल्क नतिर्नेलाई उम्मेदवार बन्नबाट रोकेको हो । यस्तै, पार्टीप्रति प्रतिबद्ध, निष्ठावान्, अनुशासित तथा पार्टीको विधि र संस्थागत प्रणाली इमानदारीपूर्वक अनुसरण गर्ने व्यक्तिलाई उम्मेदवार बन्ने पहिलो प्राथमिकतामा राखिएको छ ।
अध्यक्ष ओलीले भ्रष्टाचार, नैतिक पतन देखिने र सार्वजनिक प्रतिष्ठामा आँच आउने कुनै काममा संलग्न नभएको असल आचरणयुक्त हुनुपर्ने, जनतामाझ लोकप्रिय, जनसेवी, जनतासँग घुलमिल हुन र सामाजिक समस्या समाधानमा सकारात्मक भूमिका खेल्न सक्ने विशेषता भएको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने निर्देशन पनि दिएका छन् ।
निर्वाचनमा विजयका लागि सर्वाधिक अनुकूल र स्थानीय विकाससम्बन्धी विषयवस्तुमा राम्रो रुचि, सही दृष्टिकोण, ज्ञान र क्षमता भएको हुनुपर्ने मापदण्ड पनि एमालेको छ । अध्यक्ष ओलीले उम्मेदवार छनोटको विधि र प्रक्रियासमेत तोकेर पठाएका छन् । जसअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदको उम्मेदवारका लागि सम्बन्धित कमिटीले सर्वसम्मतिका साथ सुझाव पठाउनुपर्नेछ ।
सर्वसम्मत नभएमा प्रत्येक पदका लागि वर्णानुक्रमानुसार तीनजनाको नाम सिफारिस गरी पठाउन निर्देशन दिइएको छ । एमालेले सर्वसम्मत हुन नसकी विवाद देखिएमा अन्तिम निर्णय स्थायी कमिटीले गर्ने निर्णयसमेत मातहतका कमिटीलाई पठाएको छ । ‘नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पदका लागि उम्मेदवार चयन गर्दा गम्भीर विवाद भएमा ती स्थानका लागि उम्मेदवारसम्बन्धी निर्णय स्थायी कमिटीले गर्नेछ,’ निर्देशनमा भनिएको छ ।
एमालेले अन्य पार्टीसँग चुनावी तालमेल गर्नुपर्ने भएमा माथिल्लो कमिटीको अनुमति लिनुपर्ने निर्णयसमेत गरेको छ । ‘स्थानीय तहमा तालमेल गर्नुपर्ने आवश्यक भएमा जिल्ला कमिटीले प्रदेश कमिटी र प्रदेश कमिटीले स्थायी कमिटीको अनुमति लिनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।
बागी बन्नेलाई पाँच वर्ष निष्कासन
एमालेले निर्वाचनमा बागी उम्मेदवार बन्ने र बागीलाई सहयोग गर्नेमाथि पाँच वर्ष निष्कासन गर्ने निर्णय पनि मातहतका कमिटीमा पठाएको छ । पार्टी निर्णयको पालना उपशीर्षकमा पठाइएको निर्देशनमा पाँच वर्ष निष्कासन गर्ने उल्लेख छ ।
‘पार्टी निर्णयलाई अवज्ञा गर्ने, पार्टीले अघि सारेको उम्मेदवारका विरुद्धमा बागी उम्मेदवार बन्ने, बागी उम्मेदवारको प्रस्तावक वा समर्थक बन्ने, पार्टीको उम्मेदवारका विरुद्ध र बागी उम्मेदवारको पक्षमा गतिविधि गर्ने, विरोधी दलका उम्मेदवारसँग साँठगाँठ गर्ने, विरोधी दलका उम्मेदवारको समर्थक वा प्रस्तावक बन्ने व्यक्तिलाई उम्मेदवारीका सम्बन्धमा अन्तिम निर्णय गर्ने पार्टी कमिटीले तत्काल पार्टी सदस्यताबाट निष्कासित गर्ने र यसरी कारबाहीमा परेका व्यक्तिको पक्षपोषण गर्नेहरूलाई समेत अनुशासनात्मक कारबाही गर्ने,’ निर्देशनमा भनिएको छ ।
निर्देशनमा बैठक बस्न सम्भव नभएका कमिटीको प्रमुखलाई तत्कालै निष्कासनको कारबाही गर्नसमेत निर्देशन दिएका छन् । ‘तत्काल सम्बन्धित पार्टी कमिटीको बैठक बस्न सम्भव नभए उम्मेदवारीका सम्बन्धमा निर्णय गर्ने अख्तियारीप्राप्त कमिटीको प्रमुख पदाधिकारीले कारबाही गर्ने र कमिटीको बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने । त्यसरी निष्कासनको कारबाहीमा परेको व्यक्तिलाई पाँच वर्षसम्म पुनः पार्टी सदस्यता प्रदान गरिनेछैन र राज्य वा पार्टीका कुनै पनि पद र सुविधा दिइनेछैन,’ निर्देशनमा भनिएको छ ।
चुनावसम्म सबै तहका सम्मेलन स्थगित
एमालेले स्थानीय तहको निर्वाचन सम्पन्न नहुँदासम्मका लागि पार्टी तथा जनसंगठनहरूको अधिवेशन र सम्मेलन स्थगित गरेको छ । अध्यक्ष ओलीले पठाएको विशेष निर्देशनमा चुनावको तयारीमा लाग्नुपर्ने जनाई पार्टी र जनसंगठनको सम्मेलन/अधिवेशन स्थगित गर्ने उल्लेख छ । ‘निर्वाचनको तयारीमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने भएकाले पार्टी तथा पार्टी सम्बद्ध जनसंगठनका अधिवेशन तथा सम्मेलनहरू स्थानीय तहको निर्वाचनसम्मका लागि स्थगित गरिएका छन्,’ निर्देशनमा भनिएको छ ।
स्थानीय सरकारको अधिकार खोस्ने षड्यन्त्र कायमै
एमालेले स्थानीय सरकारको अधिकार खोस्ने गम्भीर षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध जनतालाई बुझाउँदै निर्वाचन जित्ने गरी एकसूत्रीय अभियानमा जुटन निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गएपछि अध्यक्ष ओलीले मातहतका कमिटी र सबै तहका नेता–कार्यकर्तालाई चुनाव जित्ने गरी एकसूत्रीय अभियानमा जुट्न विशेष निर्देशन दिएका हुन् । निर्देशनमा स्थानीय सरकारको अधिकार खोस्ने षड्यन्त्रलाई उजागर गर्दै अघि बढ्न पनि भनिएको छ ।
‘निर्धारित मितिमा निर्वाचन हुन नदिने, निर्वाचन बिथोल्ने, संविधान संशोधनका नाममा स्थानीय सरकारलाई प्राप्त अधिकार कटौती गर्ने तथा संविधानप्रदत्त स्थानीय तहको स्वतन्त्र र स्वायत्त भूमिकालाई कटौती गर्दै तिनलाई प्रदेशको तजबिजी प्रबन्ध मातहत र नियन्त्रणमा राख्न चाहने अवरोधहरू विद्यमान नै छन्,’ ओलीको निर्देशनमा भनिएको छ, ‘यी सबै अवरोधलाई पन्छाउँदै निर्वाचनलाई सुनिश्चित गर्न हाम्रो राजनीतिक पहलकदमी, अग्रसरता र जनदबाबलाई निरन्तर जारी राख्नुपर्छ ।’ यसपटक हुन गइरहेको स्थानीय तहको निर्वाचन नियमित निर्वाचन मात्रै नभई संविधान कार्यान्वयनको महत्वपूर्ण कडी र लोकतन्त्रलाई स्थानीय तहसम्मै स्थापित गर्ने महत्वपूर्ण प्रक्रिया भएको भन्दै ओलीले निर्वाचनको तयारीलाई गम्भीरताका साथ लिनसमेत सबै नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । अाजकाे राजधानी दैनिकमा खबर छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस